सिरहा — सिरहा कारागारका मुख्य नाइके धनुषाका विजय महतो र उनको साथी सिरहाकै इन्द्रजित यादवले कारगार भित्रै मादक पदार्थ सेवन गर्ने गरेको भिडियो बाहिरिएको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहे दुवै कैदीले मदिरा पिउँदै मोबाइल चलाइरहेको भिडियो देखिन्छ ।
स्रोतका अनुसार अहिले सिरहा कारागारमा मुख्य चौकीदार नरहेको अवस्थामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका विजय महतो मुख्य नाइके छन् ।
महतोले नै कारागार भित्रको आन्तरिक प्रशासन चलाउने जिम्मा पाएकाले आफ्नो मनोमानी गर्ने गरेको स्रोतको दाबी छ । यस्तै, भिडियोमा देखिएका इन्द्रजित भने नाइकेहरू मध्येका एक हुन् । स्रोतका अनुसार कारागार प्रशासनले महतोलाई नै मुख्य नाइके बनाउने तयारी गरिरहेको अवस्थामा कारागार भित्र मदिरा सेवन गरिरहेको भिडियो बाहिरिएको हो ।
कारागारको सुरक्षामा भने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी खटिएका हुन्छन् । यस्तै, जिल्ला प्रशासन कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहाले पनि प्रत्यक्ष निगरानी गर्ने गर्छ । यसका बावजुद कारागारभित्र मदिरादेखि लागुऔषधसम्मको कारोबार हुने गरेको स्रोतले दाबी गरेको छ ।
‘बाहिर बजारमा पाइने सबै प्रकारका खाने कुरा भित्र सहजै पाइन्छ,’ उनले भने, ‘मोबाइल र मदिरा त सामान्य हो । पैसा तिर्ने हो भने खोजेको लागुऔषध पनि पाइन्छ । तर मुल्य भने बाहिरभन्दा पाँच गुणा बढी हुन्छ ।’
उनका अनुसार बाहिर बजारमा पाइने सामान्य खानेकुरा कारगार भित्र दुई गुणासम्ममा पाइन्छ भने कारागारभित्र प्रतिबन्धित वस्तुको मुल्य भने पाँच गुणा बढी पर्छ । कारागारभित्रै रहेको पसलमा अर्डर गर्दा नुनदेखि सुनसम्म उपलब्ध हुने एक पूर्वकैदीले पनि दाबी गरेका छन् ।
‘कारागारमा चौकीदारको निकट वा पहुँच भएको हुनुपर्छ दुनियाँको सारा कुरा भित्रै पाइन्छ,’ केही समयअघि मात्रै कारागारमुक्त भएका सिरहाका एक व्यक्तिले भने, ‘त्यो भन्नलाई त जेल हो । तर त्यो एउटा छुट्टै दुनियाँ छ भित्र । त्यहाँको राजा चौकीदार हुन्छ ।’
कारागारभित्र घरबाट पकाएर लगिएको केही खाने कुरा लान दिने गरेको भएपनि बाहिरका पसलबाट किनेर भने केही पनि लान मिल्दैन । यदि कसैले बाहिरका पसलबाट कुनै चिज मगाए र यो कुरा चौकीदार वा नाइकेहरुले थाहा पाए उनीहरुले ती कैदीलाई कुटपिट गर्छन्, अनेक प्रताडना दिने गरेको पनि उनले बताए ।
‘बाहिरका पसलबाट केही लान मिल्दैन,’ जेल सजाय काटिरहेका छोरालाई भेट्न आएकी अति विपन्न देखिने महरा समुदायकी एक ६२ वर्षीया वृद्धाले कान्तिपुरलाई सुनाइन्, ‘भित्र सामानहरु महंगो पाइने भएकोले एकचोटी मैले छोरालाई बाहिरबाट किनेर दिएको थिएँ । कसैले देखेछन्, मेरो छोरोलाई गाली गरे, कुटपिट गरे । त्यसयता पैसा नै दिन्छु ।’
त्यतिमात्र होइन, चौकीदारका निकट रहेका कैदी मन लागेको बेला पैसा तिरेर बाहिर पनि जाने गरेको स्रोतले दाबी गरेको छ । उनका अनुसार, विजय र इन्द्रजीतसहित विराटनगरका विशाल विक, सिरहाका विश्वामित्र महतो र वरुण महतोलगायत बाहिर निस्किरहने गरेको उनको दाबी छ ।
‘बाहिर हल्ला नहोस् भनेर उनीहरू रातको समयमा बाहिर निस्किन्छन्,’ उनले भने, ‘त्यसका लागि छुट्टै पैसा लाग्छ । सबैलाई त भित्र बाहिर गर्न दिँदैनन्, ठूला मान्छेहरुका लागि मात्र यो सुविधा हो ।’
कारागार कार्यालय, सिरहाले भने कारागारको आन्तरिक प्रशासनको नेतृत्व गर्ने व्यक्ति (चौकीदार, अहिलेका मूल नाइके) मात्र आवश्यकता बमोजिम निस्किने गरेको दाबी गरेको छ । कारागार कार्यालय, सिरहाका खरिदार सन्तोषकुमार यादवका अनुसार मुल नाइके वा चौकीदार बाहेक कोही पनि ननिस्किएको दाबी गर्छन् ।
कारागारमा मदिरा, लागूऔषधका साथै मोबाइल प्रयोग गर्न पाइने विषय पनि भ्रामक रहेको उनले दाबी गरे । ‘हामी अहोरात्र कारागारमा निगरानी राखेका हुन्छौं, सुरक्षाकर्मी पनि तैनाथ हुन्छन्,’ उनले भने, ‘यस्तो कुरा कसैले नसोचे पनि हुन्छ । यो भ्रामक कुरा हो ।’
सिरहा कारागारमा अहिले महिला र पुरुष गरी जम्मा ५ सय १६ जना कैदीबन्दी छन् । जसमध्ये कारागारमा अहिले १९ नाइके र ६२ जना सहनाइके नै रहेको कारागार कार्यालय, सिरहाले जनाएको छ । उनीहरुलाई कारागारको आन्तरिक प्रशासनको नेतृत्व गर्ने व्यक्ति अर्थात् चौकीदारले जिम्मेवारी दिएका हुन्छन् । उनीहरु नेतृत्वको आदेश अनुसार काम गर्छन् ।
‘चौकीदारले कारागारमा आफ्नै सिस्टम बनाएका हुन्छन्, त्यसको कार्यान्वयन गराउने काम नाइके र सहनाइकेको हुन्छ,’ पाँच वर्ष जेल सजाय काटेर निस्किएका सिरहाका एक युवकले भने, ‘उनीहरु डनजस्ता हुन्छन् । उनीहरुको हाउभाउ हेर्दै डर लाग्छ । उनीहरुकै शासन चल्छ भित्र, शासन नमान्नेलाई ठेगान लगाइदिन्छन् ।’
कारागारका मुख्य नाइके विजय महतो र उनको समूहले गरेको अनियमितता बारे आवाज उठाएका कारण जेल सजाय काटिरहेका सिरहाको मिर्चैया नगरपालिकाका अशोक यादव र गंगाराम मण्डल माथि गत कात्तिक ११ गते कुटपिट भएको थियो ।
कुटपिटका कारण गंगारामको खुट्टा भाँचिएपछि उपचारका लागि कारागार कार्यालयले उनलाई काठमाडौंस्थित केन्द्रीय कारागार पठाएको छ । उनीहरु दुबै जनाको केन्द्रीय कारागारकै अस्पतालमा उपचार भइरहेको छ । गत वर्षको पुषमा पनि सिरहा कारागार भित्र विवाद हुँदा २० कैदी घाइते भएका थिए ।
‘कारागारभित्र सबै गर्ने भनेको चौकीदार र उनका मान्छेहरुले नै हो,’ स्रोतले भन्यो, ‘अलिक टाठाबाठाहरुलाई कहिलेकाहिँ पाँचसय हजार थमाइदिन्छ, अरु सबै उनीहरु च्लाउँछन् । कुटाइको डरले कोही पनि केही बोल्न सक्दैनन् ।’
यतिमात्र होइन, कारागारबाट घरमा फोन गरेबापत प्रतिमिनेट नै तीन–चार रुपैयाँका दरले कैदीबाट रकम उठाइने गरेको पनि स्रोतले दाबी गर्यो । यसरी फोनबाटै दिनको कम्तीमा १५–२० हजार उठ्ने गरेको ती कैदीको भनाइ छ ।
‘यहाँ जे भइरहेको छ, यो नयाँ वा लुकेको कुरा होइन,’ उनले भने, ‘सबै सरकारी निकायलाई यो कुरा थाहा छ ।’ सबैलाई बाँडेर पनि चौकीदारको भागमा महिनाको ३–४ लाख पर्ने उनको दाबी थियो ।
कारागार कार्यालय, सिरहाका खरिदार संतोषकुमार यादव त कानुनको उल्लंघन हुने कुनै पनि काम कारागार भित्र नभएको दाबी गर्छन् । कुनै पनि गलत काम हुन नदिन आफूहरु अहोरात्र चनाखो रहेको उनी बताउँछन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कारागारमा एक वर्षमा पाँच पटक अनुगमन भएको बताए । पटकपटक अनुगमन गर्दा पनि कसैले गुनासो नगरेको उनको दाबी छ । ‘हामी अनुगमनमा जाँदा केही गुनासो आउँछ कि भनेर छुट्टाछुट्टै कैदीहरु भेट्छौं,’ उनले भने, ‘तर, कसैले केही गुनासा सुनाउँदैनन् । हामीले के गर्ने ?’
मदिरा, लागूऔषध र मोबाइल कारागार भित्र छिर्ने गरेको विषयमा भने आफूले अहिले नै जानकारी पाएको र प्रमाण पाए त्यस विषयमा अनुसन्धान गरेर संलग्नलाई कारवाही गर्ने पनि उनले बताए । ‘यस्तो नहुनपर्ने हो । अहिले बल्ल थाहा पाएँ,’ उनले भने, ‘म कहाँ प्रमाण आयो भने त्यसमा संलग्नलाई कारबाही गर्छु ।’