रामराजा प्रतिष्ठानको संरचना निर्माण कार्य छिट्टै : स्वास्थ्यमन्त्री पौडेल 

राजविराज — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना निर्माणको कार्य छिटै सुरू हुने बताएका छन् ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थल राजविराज-१० विरौलमा मंगलबार जग्गा निरीक्षण पश्चात मन्त्री पौडेलले देशकै गौरबको रूपमा रामराजा प्रतिष्ठान को विकास गर्ने सोचका साथ सरकार अघि बढेको बताए । ‘रामराजा प्रतिष्ठानको लागी जग्गा प्रसस्त छ, प्रतिष्ठान को नाममा जग्गा आइसकेको छ,’ मन्त्री पौडेलले भने, ‘यो प्रतिष्ठान सम्बन्धी ऐन अर्थ मन्त्रालयबाट आइसकेर कानुन मन्त्रालयमा गएको छ त्यहाबाट आएपछि क्याबिनेट लगिने छ ।

वातावरणीय प्रभाव मूल्यांकन स्वास्थ्य मन्त्रालयबाट वन मन्त्रालयमा गइसकेको र त्यहाँबाट पास भएपछि पूर्वाधार निर्माणका टेण्डर गरी छिटो प्रतिष्ठान निर्माणको कार्य अघि बढ्ने मन्त्री पौडेलले बताए ।

रामराजा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यसवर्ष रामराजा प्रतिष्ठान निर्माणका लागी ४० करोड रुपैयाँ बजेट छुट्याएको बताउँदै यसै वर्ष भित्र प्रतिष्ठानको संरचना निर्माण कार्यको टेन्डर भई कार्य सुरु हुने बताए ।

२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको ०७८ असार २२ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *