काभ्रे — पनौती नगरपालिका–१२ कलाँतीका ५२ वर्षीय गोसाई विक छिमेकीको टहरामा बस्न थालेको डेढ महिना पुगेको छ । गत असोज ११ र १२ मा आएको बाढीले घरमा क्षति पुर्याएपछि आश्रय खोज्दै उनको परिवार छिमेकीको टहरामा पुगेको थियो । छिमेकीले टहरा खाली गर्न भनेपछि उनलाई अब बासस्थानको चिन्ता भएको छ ।
‘भूकम्पपछि माथि गाउँबाट तल झरेर घर बनाएका थियौं, त्यो घर पनि बाढीले बाँकी राखेन,’ उनले भने,’ ‘नयाँ बनाउन न पैसा छ, न त जग्गा नै । यसैलाई मर्मत गरेर बस्न मिल्ने पनि छैन ।’ सरकारले अस्थायी बसोबासका लागि धेरथोर पैसा दिन्छ भन्ने सुने पनि अहिलेसम्म कतैबाट एक रुपैयाँ नपाएको उनले बताए । ‘छिमेकीले अहिले बसेको टहरा खाली गर्न पटक–पटक
भनिरहेका छन्, सरकारले अलि–अलि भए पनि पैसा दिए, एउटा सानो टहरा बनाउने थियौं,’ गोसाईले भने ।
असोज १२ देखि नै पनौती–१२ रोशीका वीरबहादुर तामाङको परिवार पनौती बजारमा कोठा लिएर बस्दै आएको छ । डाँडाघरमा दुई तले पक्की घर–गोठ, बजारमा ३ तले पक्की घर भएका उनी कुखुरा फार्म, काठ मिल, सिसा पसलको व्यवसाय गर्दै आएका थिए । वीरबहादुरको अहिले सम्पत्तिको नाममा केही बाँकी छैन । डाँडामा भएको घर–गोठ पहिरो र बजारमा भएको घर–पसल बाढीले क्षति गरेपछि उनको बिल्लीबाठ भएको हो । ‘विदेशमा दुःख गरी कमाएको धनले यहाँ घर बनाएर व्यवसाय सुरु गरेको थिएँ,’ उनले भने, ‘वर्षौंको दुःख र मिहिनेत बाढीले क्षणभरमै लगेर सुकुम्बासी बनायो । व्यवसायका लागि लिएको ऋण छ, अब कसरी तिर्ने ?’
डाँडामा पहिरोको पीर र बजारमा बाढीको चिन्ताले अब कहाँ र कसरी घर बनाउने भन्ने भएको उनले बताए । ‘घर बनाउन अब त पैसा पनि छैन, सरकारले दिने पैसाले टहरा भए पनि बनाउने भनेको, त्यही पैसा कुरेको पनि महिना दिन बढी भइसक्यो,’ उनले भने, ‘सरकारले चाँडै पैसा दिए टहरा बनाएर भए पनि बस्थ्यौं, कोठा भाडा तिरेर त
बस्नु पर्दैनथ्यो ।’ उनको परिवार अहिले मासिक १५ हजार रुपैयाँ भाडा तिरेर पनौतीमा बसिरहेको छ ।
रोशी खोलाको बाढी र पहिरोले बासस्थान नै क्षत–विक्षत बनाएपछि पनौती–१२ मानखोला दोभानकी दुर्गा खत्रीको परिवार छिमेकीको घरमा भाडामा बस्दै आएको छ । ‘बाढीपहिरोले भएको सम्पत्ति केही बाँकी राखेन,’ उनले भनिन्, ‘भाडा तिरेर कति दिन बस्ने ?’ उनलाई पुरानै ठाउँमा कसरी घर बनाउने भन्ने चिन्ता छ । ‘अरू ठाउँमा बनाउन
जग्गा छैन । जग्गा किनेर घर बनाउन सक्ने स्थिति छैन । के गर्ने ? कसो गर्ने भएको छ,’ उनले भनिन् ।
सरकारी घोषणाअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक ५ मा बाढीपहिरोका कारण जनधनको क्षति हुनेलाई राहतको घोषणा गरेको थियो । समितिले तत्काल प्रतिपरिवार पाँच जनासम्म सदस्य भएकालाई १५ हजार र त्यसभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णय भएको दुई साता बित्दासमेत रकम प्राप्त नभएको पीडितहरूले बताएका छन् । सरकारी निकायले भने आधिकारिक तथ्यांक प्राप्त नभइसकेकाले राहत रकम उपलब्ध गराउन नसकिएको बताएको छ ।
स्थानीय तहबाट क्षतिको आधिकारिक विवरण प्राप्त नभएकाले रकम वितरणमा ढिलाइ भएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका
अनुसार केही पालिकाबाट विवरण अझै आउन सकेको छैन । विवरण संकलन कार्य छिट्टै सम्पन्न गर्न सम्बन्धित पालिकाहरूलाई निर्देशन दिइएको छ ।
‘कुनै पालिकामा भने सबै राहत रकम वितरणका लागि प्रक्रिया सबै पूरा भएर विरतण कार्य पनि भएको छ’, उनले भने, ‘कुनै पालिकामा सबै प्रक्रिया पूरा गरी रकम वितरणका लागि अन्तिम चरणमा पुगेको छ, केही पालिकामा भने अझै पनि विवरण संकलन गर्ने कार्य भइरहेको छ, आधिकारिक विवरण संकलन भएपश्चात् जिल्लाका सम्पूर्ण लाभग्राहीले राहत रकम प्राप्त गर्नेछन् ।’
आधिकारिक विवरण प्राप्त नभएकै कारण प्रभावितलाई राहत रकम वितरणमा ढिलाइ भएको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए । ‘सुरुमा वास्तविक प्रभावितको तथ्यांक संकलन गर्न केही समय लाग्यो, वडास्तरबाट आएका विवरणको प्रमाणीकरण गर्नुपर्यो, सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पनि केही ढिलाइ भएको हो,’ उनले भने । उनका अनुसार नगरका सबै वडाका विपद् व्यवस्थापन समितिमार्फत राहत रकम वितरणको तयारी भइरहेको छ । आउँदो सातासम्म राहत वितरण सुरु हुने उनले बताए ।
काभ्रेका १३ पालिकामध्ये बेथानचोकमा लाभग्राही सूचीमा रहेका ६ सय २१ जना प्रभावितलाई नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी प्रभावितलाई अस्थायी बासस्थानको व्यवस्थापन गर्ने तयारी पालिकाले गरिरहेको जानकारी दिए । समितिको प्रारम्भिक विवरणअनुसार असोज दोस्रो साताको बाढीपहिरोले जिल्लाका १३ वटै पालिकामा २ हजार ८ सय ४४ वटा आवास पूर्ण रूपमा र ६ हजार ४६ वटा आंशिक रूपमा क्षति भएका छन् । सबै पालिकाबाट आगामी सातासम्म यकिन विवरण प्राप्त हुने सहायक प्रजिअ सुवास पौडेलले बताए ।