दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई

पाटन (ललितपुर) — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा आज ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकास गर्दा विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउँदै समाज रुपान्तरण गर्दै जानुपर्ने बताइन् ।

उनले हामीले अन्तर्राष्ट्रियकरणलाई ध्यान दिँदै नेपाली समाज र परिवेश अनुसार प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिइन् । नेपालीपन र नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राख्दै उनले विज्ञान र प्रविधिको विकास पनि समाज र परिवेश अनुसार गर्नुपर्ने उल्लेख गरिन् ।

‘वर्तमान विश्व प्रविधिमैत्री गतिविधिमा केन्द्रित भइरहेको छ । हामी प्रविधि केन्द्रित भइरहँदा विज्ञानलाई व्यवहारमा लागू गर्ने गरी काम गर्नुपर्ने र सोही अनुसार शिक्षाको व्यवस्था हुनु जरुरी छ,’ मन्त्री भट्टराईले भनिन् । उनले विज्ञानलाई विचारमा मात्रै सीमित नराखेर जनजीवन, दैनिकी र उद्यमशीलतासँग जोड्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

‘यस्ता सम्मेलनबाट निकालिएका निष्कर्ष र प्रतिबद्धतालाई नेपाली समुदाय र अन्तर्रष्ट्रियस्तरसम्म पुर्‍याउन आवश्यक छ। यसका लागि मन्त्रालय सरोकार भएका निकायसँग समन्वय गर्न तयार छ,’ मन्त्री भट्टराईले भनिन् ।

चीनका प्रतिनिधि प्राध्यापक बिङ डिङले नेपालको शैक्षिक संस्थाले गरिरहेका काम र प्रयासको प्रशंसा गरिन् । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रुपमा उपयोग गरिने जानकारी गराए ।

मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक टंक मुखियाले सहभागीलाई स्वागत गर्दै सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौतीकाबारेमा छलफल गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *